शिवसताक्षी । झापाको शिवसताक्षीमा निर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरी लैंगिक तथा घरेलु हिंसामा कानुनी व्यवस्था सम्बन्धी तीनदिने तालिमको समापन भएको छ ।
शिवसताक्षी ८, झिलझिलेस्थित वाटरकिङडममा सञ्चालित तीन दिवशीय लैंगिक तथा घरेलु हिंसामा कानुनी व्यवस्था सम्बन्धी तालिम सम्पन्न गरी सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।

सहभागीहरुलार्ई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की र महिला सचेतना सशक्तिकरण नेपाल, काठमाडौंकी अध्यक्ष गोमा भुषालले वितरण गरेका हुन् । तालिमको उद्घाटन श्रावण १५ गते शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले गरेका थिए ।

लैंगिक हिंसा र घरेलु हिंसाको परिभाषा, यिनका प्रकारहरू (शारीरिक, मानसिक, यौनिक, आर्थिक ) हिंसाको कारण र असरहरू, नेपालमा प्रचलित कानुनी व्यवस्था, साइबर क्राइमको बारेमा अधिवक्ता लेखनाथ निरौलाले र स्थानीय तहका प्रशासनिक समस्याहरु र स्थानीय तहमा आउने विभिन्न मुद्धाहरुको बारेमा झापाका सहायक सिडिओ डोलेन्द्रप्रसाद निरौलाले सहजीकरण गरेका थिए ।

तालिममा शिवसताक्षी नगरपालिकाका प्रशासन प्रमुख डिल्ली नेपालले नगरपालिकाका आउने समस्या र त्यसको समाधान जनप्रतिनिधिहरुलाई सुझाएका थिए । त्यस्तै शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले नगरमा न्यायिक समितिले गर्दै आएका कामहरुको बारेमा जानकारी दिएकी थिइन् । तीन दिवशीय तालिममा जनप्रतिनिधिहरुसहित महिलाहरु गरी ७५ जनाको सहभागिता रहेको थियो ।












