झापा । झापाको अर्जुनधारा–५ चाँदनी चोकका रामबहादुर गिरीले बिर्तामोडस्थित चिल्ड्रेन हस्पिटलमा ८ महिनाकी नातिनी अनुश्री गिरीको उपचारमा करिब ७ लाख रुपैयाँ खर्चिएर पनि स्वास्थ्यमा अपेक्षित सुधार नआएको भन्दै अस्पतालप्रति गम्भीर आपत्ति जनाएका छन्।

गिरीका अनुसार साउन २ गतेदेखि १७ दिनसम्म अस्पतालमा राखेर उपचार गर्दा अस्पताललाई मात्रै ४ लाख ७६ हजार रुपैयाँ बुझाइएको थियो। तर डिस्चार्ज गरिएकै दिन राती ९ बजेदेखि बच्चाले फेरि ‘काप्ने’ (छारे) लक्षण देखाएको  भन्दै उनले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेका थिए ।

गिरीले भने, भिडियो सार्वजनिक गरेपछि अस्पतालको टिमले  भिडियो हटाउन दबाव दिएको र फेरि उपचार गर्ने प्रस्ताव गरे पनि आफूहरुले विश्वास नगरेर अस्वीकार गरे ।

गिरी परिवारले अस्पतालले बच्चा पूर्णरूपमा निको नभई डिस्चार्ज गरेको दाबी गर्दै अस्पतालले आफ्नो कमजोर आर्थिक अवस्थाको बेवास्ता गरेको आरोप लगाएको छ।

“१७ दिन राखेर लाखौं खर्च गरियो, अहिले पनि बच्चा उस्तै कापिरहेको छ,” आमा दीपा गिरीले भनिन्। परिवारका अनुसार अहिले पनि बच्चा सुत्न नसक्ने अवस्था छ र वैकल्पिक उपचारतर्फ मोडिएको बताएका छन्।

अस्पताल भन्छ, स्वस्थ्यमा सुधार भएपछि मात्र डिस्चार्ज गरेका हौं

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि चिल्ड्रेन हस्पिटलले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाप्रति आपत्ति जनाएको छ। अस्पतालका चिकित्सक डा. रुपक आचार्यका अनुसार अनुश्री गिरीलाई अत्यन्तै गम्भीर अवस्थामा अस्पताल ल्याइएको थियो, जसमा अक्सिजनको मात्रा ८३ प्रतिशत मात्र थियो र लगातार छारे आउने लक्षण देखिएको थियो।

डा. आचार्यका अनुसार प्रारम्भमा प्राथमिक उपचारबाट सुधार नभएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। बच्चाको एमआरआई परीक्षणमा टाउकोको वृत्तिविकास नभएको पुष्टि भएपछि परिवारलाई पनि जानकारी दिइएको बताइएको छ।

“बच्चाको अवस्था उल्लेख्य रूपमा सुधार भएपछि, छारे कम भएर खेल्न र हाँस्न थालेपछि मात्र डिस्चार्ज गरिएको हो,” डा. आचार्यले भने। साथै, उनले औषधि नियमित नखुविएको कारण समस्या दोहोरिएको दाबी पनि गरे।

अस्पतालकी अध्यक्ष लिला मैनालीले गिरी परिवारद्वारा सार्वजनिक गरिएको भिडियोबाट संस्थाको बदनाम गराउने उद्देश्य देखिएको बताउँदै अस्पतालले सबै बिरामीलाई सम्भव भएसम्म गुणस्तरीय सेवा र कमजोर आर्थिक अवस्थाका बिरामीलाई छुटसमेत दिने गरेको बताइन्।

उनका अनुसार गिरी परिवारसँग संवाद गर्न टोली पठाइएको थियो, तर उनीहरूले असहयोगी व्यवहार देखाएको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0