काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढीमा परेर ४ जना नेपाली नागरिक बेपत्ता भएका छन् । बर्दिया जिल्लाका मधुवन नगरपालिकाबाट मजदुरी गर्न गएका उनीहरू २० साउनमा आएको बाढीपहिरोमा बेपत्ता भएका हुन् ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भारतमा रहेका नेपाली र उनीहरूका आफन्तमार्फत ४ जना बेपत्ता भएको पुष्टि गरेका छन् । ‘थप ३ जना नेपाली घाइते भएको समेत जानकारी आएको छ,’ पौडेलले बताए, ‘घटनाबारे मन्त्रालयलाई जानकारी दिइसकिएको छ, दूतावासमार्फत समन्वय भइरहेको बुझिएको छ ।’
बेपत्ता हुनेमा मधुवन नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी श्रीमती सरस्वती भण्डारी खड्का, २ वर्षीय छोरा रोमन खड्का र वडा नम्बर ५ की अमृता परियार रहेको मधुवन नगर प्रमुख तेजबहादुर भाटले जानकारी दिए । उनीहरू वैशाख महिनामा मजदुरी गर्न भारतको उत्तराखण्डस्थित पौडी जिल्लाको बाँकुडा गाउँ गएका थिए ।
बेपत्ता परिवारका आफन्तले इलाका प्रहरी कार्यालय ढोडरी मधुवनमा निवेदन दिँदै खोजीका लागि सहयोग मागेका छन् । भाटले पनि पीडितको घरमै पुगेर अवस्था बुझेका थिए ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लका अनुसार उत्तराखण्डका स्थानीय अधिकारीहरूसँग समन्वय भइरहेको छ । ‘परिवारतर्फबाट जानकारी आएको हो, स्थानीय प्रशासनबाट आधिकारिक विवरण आउन बाँकी छ,’ मल्लले बताए ।
बाढीले उत्तरकाशी जिल्लाको धराली बजारमा सबैभन्दा बढी क्षति पु¥याएको छ । समुद्री सतहदेखि ३१०० मिटरको उचाइमा रहेको धराली क्षेत्र प्रसिद्ध चारधाम यात्रा मार्ग अन्तर्गत पर्छ, जहाँ नेपाली कामदारको बाक्लो बसोबास छ । गंगोत्री तीर्थस्थल धरालीबाट झण्डै २० किलोमिटरको दूरीमा पर्छ ।
राज्यका अधिकारीहरूका अनुसार एकै स्थानमा अत्यधिक वर्षा भएपछि क्लाउडबर्स्ट (अत्यन्त तीव्र वर्षा) भएर बाढी आएको हो । लेदो र माटोसहितको बाढीले बस्तीहरूमा ठूलो क्षति पुर्याएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार हालसम्म पाँच जनाको मृत्यु पुष्टि भएको छ भने एक सयभन्दा बढी बेपत्ता छन् ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको निरीक्षण गर्दै उद्धारकार्यलाई तीव्र पारिएको जानकारी दिएका छन् । हालसम्म करिब १९० जनालाई उद्धार गरिएको बताइएको छ ।












