शिवसताक्षी । झापाको प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा श्रावणको अन्तिम सोमबारको अवसरमा आज श्रद्धालु भक्तजनहरूको घुइचो लागेको छ।
सनातन नेपाली परम्परा अनुसार साउन महिनाभर प्रत्येक सोमबार भगवान् शिवको विशेष पूजाअर्चना, व्रत र उपवास गर्ने परम्परा छ। विशेषगरी अन्तिम सोमबारलाई अत्यधिक धार्मिक महत्त्वका साथ मनाइने भएकाले झापा मात्र होइन, आसपासका जिल्लाबाट समेत भक्तजन सताक्षीधाममा दर्शनका लागि आएका थिए।

भक्तजनहरू बिहान सबेरै फूल, बेलपत्र, दूध, धूप–दीप र प्रसादसहित लाममा उभिएर शिवलिङ्गमा अभिषेक गर्दै देखिन्थे। कतिपय व्रतालुहरू नाङ्गो खुट्टा पैदल यात्रा गर्दै आएका थिए भने केहीले परिवारसहित सामूहिक पूजा गरेका थिए।
सताक्षीधाम परिसर वरिपरि हरियो रङ्गीन झण्डा, धार्मिक भजनको धुन र भक्तजनको जयघोषले वातावरण उत्सवमय बनेको थियो।

सताक्षीधाममा रहेको ८७ धारामा नुहाउनेको भक्तजनहरुको पनि उतिकै भीड लागेको थियो । भक्तजनहरुले सताक्षीधाममा रहेको पुरानो महादेव शिवको मन्दिर र द्वादश जोर्तिलिङ्गमा जल चढाएका थिए ।
स्थानीय धार्मिक संस्थाका प्रतिनिधिहरूका अनुसार श्रावणको अन्तिम सोमबारमा पूजाअर्चना गर्दा मनोकामना पूरा हुने विश्वास रहिआएको छ।












