बिर्तामोड, झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औं स्थापना दिवस मंगलवार झापाको बिर्तामोडमा विभिन्न कार्यक्रमसहित मनाइएको छ। सो अवसरमा फोनिज झापा जिल्ला शाखाले ‘मिडियामा आदिवासी जनजातिका सवाल’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।
अध्यक्ष अर्जुन राजवंशीको अध्यक्षता र फोनिज संघीय समिति सदस्य भूमिका फियाक लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पत्रकार, पत्रकारजन्य संघ–संस्थाका प्रतिनिधि, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का पदाधिकारी, विभिन्न जातीय संगठनका नेतृत्व र सरोकारवाला गरी करिब ५० जनाको सहभागिता थियो।
कार्यक्रममा मिडियाले आदिवासी जनजातिका मुद्दामा कस्तो प्राथमिकता दिइरहेको छ र अझ के–कस्तो प्रयास आवश्यक छ भन्ने विषयमा सहभागीबीच गम्भीर छलफल भयो। फोनिजका पूर्व संघीय उपाध्यक्ष तथा झापाका पूर्वअध्यक्ष दिपिन कुमार राईले संविधानले नीति निर्माण तहमा आदिवासी जनजातिको सहभागिता सुनिश्चित गरे पनि राजनीतिक दलहरूले उनीहरूको आवाज अझै दबाउने गरेको आरोप लगाए। उनले फोनिज, नेफिन र जातीय संगठनबीच सहकार्य अनिवार्य रहेको पनि जोड दिए।

कार्यक्रममा फोनिजका पूर्व संघीय उपाध्यक्ष कमन देवान, नेफिन झापाका अध्यक्ष पाण्डवलाल चौधरी, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, फोनिज झापाका पूर्वअध्यक्ष इन्द्रजीति मुखियालगायतले धारणा राखे।
त्यस्तै, नेफिन झापाका उपाध्यक्ष केवलराम राई, पूर्वअध्यक्ष प्रेम घिसिङ र भरतकुमार श्रेष्ठ, नेपाल मगर संघ झापाका पूर्वअध्यक्ष जगत राना मगर, नेपाल संथाल आदिवासी उत्थान संघका महासचिव कुन्दन मुर्मु, मेचे समाजका बिरेन मेचे, राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशी, महिला नेतृ सनम राजवंशी, व्यवसायी रमेशकुमार राजवंशीलगायतले पनि मिडियाको जिम्मेवारी र प्रभावकारी भूमिकाबारे विचार प्रस्तुत गरे।
अन्तरक्रियामा सहभागिहरूले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संरचना जोगाउन मिडियाले आदिवासी जनजातिका आवाजलाई निरन्तर उजागर गर्नुपर्नेमा जोड दिए। साथै, संविधानले प्रत्याभूत गरेका अधिकार कार्यान्वयनका लागि मिडिया र सम्बन्धित निकायबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने साझा प्रतिबद्धता पनि व्यक्त गरियो।
कार्यक्रममा फोनिज झापाका उपाध्यक्ष तिलक योञ्जनले स्वागत मन्तव्य दिएका थिए भने सचिव सन्तोष वेघाले सञ्चालन गरेका थिए।













