बिर्तामोड । अखिल नेपाल खेलकुद महासंघ झापाको अध्यक्षमा सुरेश आले चयन भएका छन्। बिहीबार बिर्तामोडमा सम्पन्न महासंघको दोस्रो जिल्ला सम्मेलनबाट आलेको नेतृत्वमा ३१ सदस्यीय जिल्ला समिति गठन गरिएको हो।

नवगठित समितिमा उपाध्यक्षत्रयका रूपमा हरि बस्नेत, प्रवेश कुमार श्रेष्ठ (राजु) र पंकज शेर्पा रहेका छन्। सचिवमा सुरेन्द्र गिरी, सहसचिवमा पुरन भण्डारी र कोषाध्यक्षमा गंगा तुम्बापो चयन भएका छन्।

सम्मेलनका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रञ्जित तामाङले खेलकुद युवालाई राजनीतिसँग जोड्ने माध्यम पनि भएको बताए। उनले नेपाललाई विश्वमा चिनाउने साधनमध्ये खेलकुद एक प्रमुख माध्यम भएको उल्लेख गर्दै यसको विकासमा राज्यको लगानी आवश्यक भएको बताए। तामाङले खेलकुदले स्वास्थ्य मात्र होइन, अनुशासनको विकासमा पनि योगदान पुर्‍याउने र मुलुकको विकासका लागि युवाशक्ति एकजुट हुनुपर्नेमा जोड दिए।

कार्यक्रमका विशिष्ट अतिथि नेकपा (माओवादी केन्द्र) झापाका संयोजक राजु आचार्य (अग्नी) ले युवाहरुलाई खेलकुदमा सक्रिय भई अघि बढ्न आह्वान गरे।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रदेश सदस्य तथा बिर्तामोड इञ्चार्ज कुवेर श्रेष्ठ (अरुण), प्रदेश सदस्य डिल्ली घिमिरे (हिक्मत), अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज मदन खड्का लगायत नेताकार्यकर्ता सहभागी थिए।

सम्मेलन निर्वतमान अध्यक्ष राजु दर्नालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन तत्कालीन सचिव सुरेन्द्र गिरीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0