शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरका महिला कर्मचारीहरुलाई दर खुवाएको छ ।  नगरपालिकाले शुक्रबार तीज मिलन कार्यक्रम गर्दै नगरमा कार्यरत वडा कार्यलय, स्वास्थ्य कार्यालय लगायतका नगरका महिला कर्मचारीहरुलाई दर खुवाएको हो ।

तीज मिलन कार्यक्रममा नगरका स्वास्थ्यकर्मी गंगादेवी खत्री, इन्दिरा तामाङ्ग, सेतीमाया तामाङ्ग कृष्णकुमारी सुनुवारलाई सम्मान गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

उनीहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा,उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

नगरप्रमुख मेगाहाङ्ग थोप्राले हरितालिका तीजको अवसरमा सबै महिला कर्मचारीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।  उहाँले नारीहरुको पर्वको अवसर पारेर नगरका स्वास्थ्य क्षेत्रमा लामो समयदेखि उल्लेखनीय रुपमा काम गर्ने महिला कर्मचारीहरुलाई उहाँहरुको योगदानको कदर गर्दै सम्मान गरिएको बताउनु भयो । स्वास्थ्य क्षेत्र अरु क्षेत्रहरु भन्दा सम्वेदनशिल भएकाले आगामी दिनमा जिम्मवारी भएर काम गर्न स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई उहाँले सुझाउनु भएको थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका लेखा शाखा प्रमुख प्रकाश योङ्गहाङ, प्रशासन प्रमुख डिल्ली नेपाल, शिक्षा शाखा प्रमुख छविलाल ढकाल, वडाध्यक्ष भाष्कर न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

हरितालिका तीजको कथा अनुसार देवी पार्वतीले कठोर तपस्या गरी भगवान् शिवलाई पति रूपमा प्राप्त गर्नुभएको थियो। त्यसैको सम्झनामा महिलाहरूले व्रत बसी शिव–पार्वतीको पूजा गर्छन्। विवाहित महिलाले आफ्ना पतिको दीर्घायु, सुख–समृद्धि र पारिवारिक कल्याणको कामना गर्दै तीज व्रत गर्छन्। अविवाहित युवतीहरूले पनि राम्रो, आदर्श जीवनसाथी प्राप्त होस् भन्ने विश्वासका साथ यो व्रत बस्ने गर्दछन्।

तीजलाई महिला एकताको पर्व पनि मानिन्छ। आ–आफ्ना घर, ससुराली वा मायेतिर व्यस्त रहेका महिला दिदीबहिनीहरू यो दिन एकै ठाउँमा भेला भई रमाइलो गर्ने, गीत–संगीत गाउने र नाच्ने गर्छन्।यसले समाजमा सहकार्य र आपसी स्नेह बढाउने काम गर्छ।

तीजको अवसरमा गाइने तीज गीतहरूले महिलाको दुख, पीडा, खुशी, आशा र समाजका विभिन्न अवस्था प्रकट गर्छन्, जसले मौलिक संस्कृतिको संरक्षण गर्छ। विशेषगरी रातो पहिरन, पोते, हरिहर चूडा जस्ता सौन्दर्य र सजावटहरूले नारीको सौन्दर्य र संस्कृतिलाई अझै आकर्षक बनाउँछन्। उपवास र भक्ति साधनाले मन शुद्ध हुने, धैर्य, श्रद्धा र संयम बढ्ने विश्वास गरिन्छ। भगवान् शिव र पार्वतीको पूजा गरेर गृहस्थ जीवनमा शान्ति र स्थिरता प्राप्त हुन्छ भन्ने धारणा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0