शिवसताक्षी । नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायका राजवंशी, गनगाई, ताजपुरिया जातिले दधिकाद पर्व मनाएका छन् ।
यसै क्रममा झापाको शिवसताक्षीको चन्द्रडाँगीमा पनि दधिकाद पर्व मनाइएको छ । वडा नं. ७ को दधिकाद (नरिवल खेल) समितिद्वारा विभिन्न खेलहरु गर्दै दधिकाद पर्व मनाएको हो ।

चन्द्रडाँगीका शुक्र माविको परिसरमा नविरल पुजन गरी दधिकाद वर्षको वडाध्यक्ष भवानी चेम्जोङले दधिकाद कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा नरिवल खेल, कुवेण्डे खेल, म्युजिकल चियर, चक्लेड दौड लगायतका खेलहरु खेलाइएको वडा नं. ७ का वडा सदस्य शुरेस राजवशीले जानकारी दिए ।
खेलमा उत्कृष्ट हासिल गर्ने खेलाडीहरुलाई आयोजकले दधिकाद खेल समितिले प्रमाण पत्र तथा पुरस्कार वितरण गरेको थियो ।

दधिकाद धार्मिक एवम् सांस्कृतिक रुपमा महत्त्वपूर्ण खेल पर्व हो । झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट दधिकाद पर्व मनाउँछन् । दधिकाद खेल खेलाउँदा आफ्नो मनले चाहेको पुग्ने जनविश्वास छ । भगवान् कृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेलेको सम्झनामा अहिले माटोको हिलोलाई नै दही मानी खेल्ने गरिन्छ ।
कार्यक्रम दधिकाद समितिका अध्यक्ष किरण राजवशंकीको अध्यक्षता भएको थियो भने, सञ्चालन सचिव कुवेर राजवंशीले गरेका थिए ।













