बिर्तामोड । कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेमा झापाको कचनकवलका एक जना युवक पनि रहेका छन्। नेपाली दूतावासका अनुसार सो घटनामा हालसम्म ११ जना नेपाली श्रमिकले ज्यान गुमाइसकेका छन्।
जाब्रियास्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार मृत्यु हुनेमध्ये झापा कचनकवल–७ का जात्रु राजवंशीका २९ वर्षीय छोरा रमेश राजवंशी पनि रहेका छन्। उनी तीन वर्षअघि निलकमल ह्युमन रिसोर्स प्रालिबाट कुवेत पुगेका थिए र इन्टरनेसनल फर जनरल ट्रेडिङ एन्ड कन्ट्रयाक्टिङ कम्पनीमा क्लिनरको रूपमा कार्यरत थिए।
कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मेथनोल मिसाइएको मादक पदार्थ सेवनका कारण १६० जना प्रभावित भएका छन्। तीमध्ये ४० जना नेपाली श्रमिकको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
उद्योगमा प्रयोग हुने रसायन मेथनोल मिसावट भएको मदिरा सेवनका कारण कुवेतको साल्मिया क्षेत्रमा रहेका नेपाली, भारतीयसहित विभिन्न मुलुकका नागरिक प्रभावित भएको मन्त्रालयले जनाएको छ।













