शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले मावन स्वास्थ्यको ख्याल गर्दै बजार अनुगमन गर्दै आएको छ । नगरपालिकाले आज शिवसताक्षीको दूधेमा नगरपालिकाले छड्के अनुगमन गरेको हो ।
चाड पर्वको नजिक मात्र बजार अनुगमन गर्ने प्रचलनलाई तोड्दै नगरपालिकाले समय समयमा छड्के बजार अनुगमन गर्ने गरेको अनुगमन समितिकी संयोजक उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् ।

दूधे बजार अनुगमनका क्रममा केही खाद्य वस्तुहरु म्याद गुज्रिएको अवस्थामा फेला परेको थियो । जसमा सूर्य पान तथा किराना पसलबाट जङ फुड्स, चियारङ्ग, कपालमा लगाउने तेल, आँपको अचार, मञ्जन लगायतका सामाग्रीहरु म्याद गुज्रिएको अवस्थामा फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । त्यस्तै पानस किराना पसलमा प्याकेट खेलिएको खोर्सनीको धुलो, खैनी, साबुन लगायतका समाग्री म्याद गुज्ज्रिएको अवस्थामा फेला परेको थियो । अन्य पसलहरुबाट छिटपुट रुपमा म्याद गुज्रिएका खाद्य समाग्री फेला परेको थियो ।

म्याद गुज्रिएको पेय पदार्थ र खाद्य सामाग्री नगरपालिकाले डिज्पोज गरेको छ। नगर उपप्रमुख कार्कीले बजार अनुगमन जतिबेला पनि हुने बताइन् । नियमित अनुगमन गर्दा व्यापारीहरूले गुणस्तरीय र म्यादभित्रका वस्तु मात्र बिक्री गर्ने संस्कार बस्छ । यसले कालोबजारी, मिलावट, नकली र म्याद गुज्रिएका सामानको कारोबारमा नियन्त्रण हुन्छ । उपभोक्तामा पनि सचेतना बढ्छ, जसले गर्दा उनीहरू वस्तु खरिद गर्दा म्याद, लेबल र गुणस्तरबारे चनाखो हुने उप्रमुख कार्कीको भनाई छ । विद्यालयको आसपासमा खैनी, गुड्का जस्ता पदार्थहरु बेच विखन गर्न नपाइने समेत शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले विशेष खाद्य सामाग्री विक्री गर्ने, किराना पसल, मासु पसलहरुमा अनुगमन गरेको थियो ।
अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, दुधे बजार व्यवस्थापन समितिका अध्यक्ष सन्तोष थोप्रा, नेपाल प्रहरी, नगर प्रहरी, नगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।













