झापा । विर्तामोडमा तीजको रौनकसँगै महिला पत्रकारहरुले फरक शैलीमा पर्व मनाएका छन् । नारी सञ्चार गृह झापाले आयोजना गरेको तीज विशेष कार्यक्रममा पत्रकार महिलाहरुले गीत, कविता, मुक्तक प्रस्तुत गर्दै आपसमा शुभकामना साटेका थिए ।
कार्यक्रममा समाचार लेखनमार्फत तीजको परम्परा र आधुनिकता विश्लेषण गर्ने अस्मिता साँखी, रञ्जिता खड्का, सिर्जना परियार र ममता सापकोटालाई लेखनवृत्ति प्रदान गरिएको थियो । पूर्व अध्यक्ष भीमा शिवाकोटीको सहयोगमा प्रदान गरिएको उक्त पुरस्कार प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी र संस्थापक अध्यक्ष सावित्रा दाहालले हस्तान्तरण गर्नुभयो ।
अध्यक्ष स्वस्तिका आचार्यका अनुसार आगामी वर्षदेखि कार्यविधि बनाएर नियमितरूपमा एक जना पत्रकारलाई लेखनवृत्ति दिइनेछ । कार्यक्रममा वक्ताहरुले पत्रकारिता चुनौतीपूर्ण पेशा भएकाले यस्ता पुरस्कारले महिलालाई टेवा पुग्ने बताए ।
तीजका गीतमा नाचगान गर्दै पत्रकार महिलाहरुले सामूहिक दर खाएर कार्यक्रम समापन गरेका थिए ।













