शिवसताक्षी । झापाको शिवसताक्षीमा मोती जयन्तीको अवसरमा साहित्य प्रेमीहरुले नेपाली साहित्यका महत्त्वपूर्ण हस्ती कवि मोतीराम भट्टको सम्झना गरेका छन् ।

शिवसताक्षीको दूधेमा सतासीधाम साहित्य संगमको आयोजनामा १६० औं मोती जयन्ती विशेष साहित्यिक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा गजल, कविता र गीत प्रस्तुत गर्दै कवि भट्टलाई स्मरण गरिएको थियो ।

कार्यक्रममा कवि तथा साहित्यकार पदम प्रसाद दाहालले मोतीराम भट्टको व्यक्तित्व र कृतित्वबारे विशेष चर्चा गर्दै उनले नेपाली साहित्यमा पुर्‍याएको योगदानबारे प्रकाश पारे । उनका अनुसार मोतीराम भट्टले आधुनिक नेपाली कविताको शुरुवात गर्दै स्वर्गीय भानुभक्त आचार्यलाई ‘आदिकवि’ का रूपमा स्थापित गर्ने महत्वपूर्ण काम गरेका थिए । साथै उनले ‘गजल’ परम्परालाई नेपाली साहित्यमा भित्र्याएर कविताको क्षेत्रलाई नयाँ मोड दिएका थिए ।

त्यस्तै कार्यक्रममा भीम दाहाल, योन्देन सुनुवार, श्रीप्रसाद खरेल, अलिन आचार्य, आश्विन धिताल, रविन्द्र सुवेदी, जीवन बेघा लगायतका साहित्यकार तथा कविहरुले आफ्ना गजल तथा कविता प्रस्तुत गरेका थिए । यस्तै यदुनाथ दाहाल, रेवती रमण खनाल र सरोज भट्टराईले सुमधुर गीत प्रस्तुत गरेर कार्यक्रमलाई झनै रमाइलो बनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार विन्दु दाहालले कविता, गजल लेखन र नेपाली साहित्यको वर्तमान अवस्थाबारे आफ्ना विचार राख्दै पछिल्ला दिनमा सामाजिक सञ्जालका कारण साहित्य प्रेमीहरुलाई आफ्ना रचनाहरु सार्वजनिक गर्न सहज भएको बताउनुभयो । उहाँले साहित्य र कलामा रुचि राख्ने भावी पुस्तालाई प्रोत्साहन गर्दै अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

संगमका अध्यक्ष उमानाथ दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन सचिव यादवप्रसाद घिमिरेले गर्नुभएको थियो ।

मोतीराम भट्ट (१९२३–१९५३) नेपाली साहित्यका महत्वपूर्ण हस्ती मानिन्छन् । अल्पायुमै जीवन यात्रा टुंग्याएका भट्टले साहित्यिक सिर्जना, पत्रपत्रिका प्रकाशन, गजल रचना, नाटक लेखन लगायत माध्यमबाट नेपाली साहित्यलाई नयाँ धारमा लैजाने काम गरेका थिए । उनले स्थापना गरेको “गोरखापत्र” मा साहित्यिक रचनाहरु प्रकाशित गरी नेपाली साहित्य पत्रकारिताको सुरुवात गरेका थिए । भट्टकै प्रयासले भानुभक्त आचार्यको कृतिहरु संकलन, प्रकाशन र प्रचार भएको थियो । यही कारण उनलाई ‘भानुभक्तका खोजकर्ता’ पनि मानिन्छ ।

कार्यक्रममा सहभागी साहित्य प्रेमीहरुले मोतीराम भट्टको योगदानलाई स्मरण गर्दै उनको साहित्यिक चेतना र सिर्जनाले आजको पुस्तालाई समेत प्रेरणा दिने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0