शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–११ दूधेमा राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन गरिएको छ।

रगतको अभावलाई न्यूनीकरण गर्न र समाजमा रक्तदान संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक र शिवसताक्षी उपशाखाले प्राविधिक सहयोग गरेका थिए।

रक्तदान कार्यक्रमको उद्घाटन राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सचिव निशा लिम्बुले गरेकी थिइन्।

राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला अध्यक्ष फुर्वा लामाका अनुसार, संघले केवल रक्तदान मात्र होइन, विभिन्न सामाजिक जिम्मेवारी वहन गर्ने दीर्घकालीन योजना अघि सारेको छ। उनले झापाभरका विपन्न समुदायलाई लक्षित गरी यस वर्ष मात्रै १५ ओटा घर निर्माण गर्ने अभियान सञ्चालन हुने जानकारी दिए।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज चन्द्रकुमार शेर्माले युवालाई सामाजिक उत्तरदायित्वमा जोड्ने उद्देश्यले नगर–नगरमा विभिन्न कार्यक्रम भइरहेका बताए। उनका अनुसार, संघले स्वास्थ्य, शिक्षा, राहत वितरण, प्राकृतिक विपद् व्यवस्थापनदेखि समाजिक सचेतनामूलक अभियानसम्म सञ्चालन गर्दै आएको छ।

झापासहित पूर्वी नेपालमा रगत अभावको समस्या बारम्बार देखिने भएकाले नियमित रक्तदान कार्यक्रम निरन्तर सञ्चालन गर्न संघले प्रतिवद्धता जनाएको छ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य भोजकुमारी नेपाल, जिल्ला सदस्य नरमाया कार्की, नगर अध्यक्ष मेदनी दंगाल लगायतको उपस्थिति थियो। राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीका अध्यक्ष शिवराज राईको अध्यक्षमा कार्यक्रम सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0