बिर्तामोड । झापामा साथीहरुलाई आफ्नो जन्मदिन मनाउन बोलाएर बन्धक बनाएको घटना सार्वजनिक भएको छ । झापा अर्जुनधारा –११ बिर्तामोड नयाँ बसपार्कमा साथीहरु बोलाएर कोठामा बन्धक बनाई हात समेत बाँधेर चक्कु समेत प्रहार गरेको घटना बाहिर आएको हो ।
चक्कु प्रहारबाट दुई जना बालकको शरिरमा चोट लागेको छ । गत भदौं ९ गते आफ्नो जन्मदिन मनाउन बोलाएर घरमा साँझ ७ बजेदेखि १० बजेसम्म बन्धक बनाएको घटनामा बिर्तामोड प्रहरीले अनुसन्धान गरिएको छ । मुखमा कपडा खाँदेर चक्कु प्रहार गरिएको एक आफन्तले जानकारी दिए । हल्ला गरेमा मारेर चिया बगानमा फालिदिने धम्की दिएको पीडित बालकहरुले परिवारलाई जानकारी दिएका छन् ।
फुटबल खेल्दा चिनेको साथीले जन्मदिनमा बोलाउँदा छोराहरु गएछन्, पीडित परिवारका अभिभावक भन्छन् – शरिरका विभिन्न भागमा चोट छ । प्रहरीले जन्मदिन मनाउन बोलाएर चक्कु देखाउनेलाई पक्राउ गरिसकेको छ भने सहयोग गर्ने एक जना फरार रहेको बुझिएको छ । घरमा कोही नभएको बेला बन्धक बनाएको घटनामा पीडित परिवारले आतंकबादी घटना जस्तो महसुस भएको जानकारी दिएका छन् ।
अर्जुनधारा ६ का पीडित दुई बालकहरु बुबाले प्रहरी लिएर आउदैछौं भनेर फोनमा भनेपछि उनीहरुलाई मुक्त गरिएको थियो । चक्कु देखाएर, बन्धक बनाउनेले फोनमा साथीको जन्मदिन मनाएर बसिरहेको र भोली मात्रै घर आउने भन्न लगाएका थिए ।
छोराहरु घर नआएपछि अभिभावकले लोकेशन पत्ता लगाइसकेको र तिमिहरु भएको ठाउँमा आउने भनेपछि बन्धक बनाउनेहरु फरार भएका थिए । परिवारले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ ।













