सन्तोष शर्मा
झापा । झापामा छ जना बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् ।
चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा छ जना बालबालिकासहित ६६ वटा नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । नयाँ भेटिएका कुष्ठरोगीमा धेरै किटाणु भएको बिरामीको संख्या ४७ जना रहेको छ भने कम किटाणु भएको बिरामीको संख्या १९ जना रहेको छ ।
जिल्लाको १५ वटा पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ जना नयाँ कुष्ठरोग फेला परेका छन् भने कनकाई नगरपालिकामा एक जना पनि भेटिएको छैन ।
त्यस्तै, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक÷एक जना, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँच÷पाँच, झापा गापा र बाह्रदशीमा दुई÷दुई, बिर्तामोडमा छ, हल्बिारीमा चार र कचनकवलमा आठ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
आर्थिक वर्ष २०७९÷०८० मा एक सय ६० जना र आव २०८०÷०८१ मा एक सय २२ जना नयाँ कुष्ठरोगी फेला परेको फोकल पर्सन दासले बताउनुभयो ।
जिल्लामा हात्तीपाइले, कुष्ठरोग, डेंगु लगायतका उपेक्षित उष्णप्रदेशीय रोगको संक्रमण दर उच्च रहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीबताउनुहुन्छ । जिल्लामा हाल हात्तीपाइले रोगीको संख्या करिब दुई हजार दुई सय रहेको उहाँले बताउनुभयो । जसमध्ये आठ सय जनाको शरीरका विभिन्न अंग सुन्निएको छ । जिल्लामा उपेक्षित उष्णप्रदेशीय रोगहरु ठूलो समस्याका रुपमा देखिएकाले समाधान गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
झापाको प्रादेशिक अस्पताल भद्रपुर र दमक अस्पतालमा हात्तीपाइले रोगको निःशुल्क उपचार हुँदै आए पनि लक्षित समुदायलाई यसका बारेमा जानकारी नहुँदा रोग बोकेर घरमै बसिरहेको उहाँले बताउनुभयो ।
प्रादेशिक अस्पताल भद्रपुरका डाक्टर सुजन काफ्लेले आर्थिक वर्ष २०७९÷०८० देखि अस्पतालमा हात्तीपाइले रोगको उपचारका लागि छुट्टै बहिरंग (ओपीडी) सेवा शुरु भएको बताउनुभयो ।
हात्तीपाइले रोगीको उपचारका लागि सरकारले वार्षिक रू दुई लाख दिने गरेको बताउँदै उहाँले उक्त रकमले उनीहरुको उपचार प्रभावकारी रुपमा गर्न नसकिएको बताउनुभयो । “बिरामीलाई दुई सय रुपैयाँ यातायात खर्च दिन्छौं”, उहाँले भन्नुभयो, “त्यो पर्याप्त हुँदैन, विपन्न वर्गका मानिस धेरै बिरामी छन्, आर्थिक अभावले पनि उनीहरु उपचार गर्न आउँदैनन् ।”
हालै एक जना बिरामीको खुट्टाको शल्यक्रिया गर्दा अस्पतालबाट निःशुल्क उपचार भए पनि ती बिरामीको रू एक लाख २९ हजारभन्दा बढी खर्च भएको उहाँले सुनाउनुभयो । हात्तीपाइलेका बिरामीलाई स्वास्थ्य बिमामा जोड्न सके उनीहरुको उपचारमा धेरै सहज हुने उहाँ बताउनुहुन्छ ।












