काभ्रेपलाञ्चोक । पनौती नगरपालिकामा भएका आगजनी र तोडफोडका घटनामा संलग्न भएको प्रमाण सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नगर सभापति विवेक भट्टराई र इन्चार्ज सुदर्शन तिमल्सिनाले पद तथा पार्टी दुवै त्यागेका छन् ।
भदौ २४ गतेको आन्दोलनका क्रममा पनौतीका पूर्व मेयर भीम न्यौपाने, उपमेयर गीता बन्जारा, कांग्रेस नेता शिव हुमागाईँ र व्यवसायी क्याप्टेन रामेश्वर थापालगायतका घरमा आगजनी भएको थियो । ती घटनामा रास्वपाका स्थानीय नेताको प्रत्यक्ष संलग्नता देखिने भिडिओ र फोटो सार्वजनिक भएपछि दुवैले जिम्मेवारी लिँदै पार्टी छाड्ने घोषणा गरेका हुन् ।
नगर सभापति भट्टराई काठमाडौँ विश्वविद्यालय अन्तर्गत कुप्स विद्यालयका स्थायी शिक्षक समेत हुन् । विद्यालय प्रशासनले पनि उनी स्थायी शिक्षक भएको पुष्टि गरेको छ ।
यसैबीच, पनौती–२ कुशादेवी निवासी इन्चार्ज सुदर्शन तिमल्सिनाले आन्दोलनका क्रममा आफूहरूबाट गल्ती भएको स्वीकार गरेका छन् । उनले “सभापतिले राजीनामा दिएकै कारण आफू पनि अलग हुने” बताए । साथै उनले आगामी पुस्ताले राजनीति नगर्ने घोषणा गर्दै पछिल्लो घटनापछि आफूलाई ज्यान असुरक्षासमेत भएको आरोप लगाए ।













