झापा । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलीय पार्टीहरूले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ । झापामा भने बन्दको आशिंक प्रभाव परेको छ ।
मुकुम्लुङ अन्तरदलीय राजनीतिक पार्टीले माघ २०/२१ गते अरुणपूर्व नौ जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा बन्दको आह्वान गरेको छ।
बन्दका कारण कोशी पहाडका जिल्लामा सवारी साधन ठप्प बनेका छन् । कोशी राजमार्ग धरानबाट धनकुटा हुँदै तेह्रथुम र संखुवासभा जाने तथा पहाडी क्षेत्रबाट तराई जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन्। झापामा भने अहिलेसम्म बन्दको सामान्य प्रभाव देखिएको छ । बन्दकर्ता भने सडमा उत्रिएका छन् । प्रशासनले बाक्लो सुरक्षाकर्मी परिचालन गररेको छ ।
त्यस्तै, तमोर करीडोर ठप्प हुँदा धनकुटाको गढतिर क्षेत्र तथा ताप्लेजुङ, पाँचथरलगायतको स्थानमा सञ्चालन हुने सवारीसाधन सञ्चालन भएका छैनन्। धरानबाटै सवारीसाधन नआएका कारण यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ।
आफूहरूको धार्मिक आस्थामा खलल पुर्याउने गरी व्यापारिक घरानालाई केबुलकार बनाउन दिएको भन्दै विरोध गर्दै आएका उनीहरू केही दिनअघि प्रहरीसँगको झडपमा ३ जना गोली लागी गम्भीर घाइते भएपछि थप आन्दोलनमा उत्रिएका हुन्।
झापामा बन्द गराउँदै हिँड्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
आज बिहान दमक नगरपालिका–६ स्थित आकाशे पुलमा भेला भई बन्द गराउँदै हिँडने तीनजना बन्दकर्तालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पदम बेघालगायत रहेका छन् । राजमार्गमा गुडिरहेका गाडीको चाबी थुत्न खोज्दा उनीहरूलाई नियन्त्रणमा लिएको डीएसपी चन्दले बताए । त्यस्तै आज बिहान ५ः३० बजे मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका –४ स्थित बर्नेमा बन्दकर्ताहरूले दुईवटा घाघरुको रुख ढालेर राजमार्ग अवरुद्ध पारेका थिए ।
त्यसलाई पन्छाएर सडक सुचारु गराएको डीएसपी चन्दको भनाइ छ । जिल्लामा बन्दको प्रभाव देखिएको छैन । राजमार्गमा सवारीसाधन चलिरहेका छन् । बजार पसल पनि खुला छ । राजमार्गका विभिन्न स्थानमा व्यापक सुरक्षाकर्मीहरू परिचालन गरिएको उनले बताए ।
केबुलकार निर्माण रोक्नुपर्ने, प्रहरीले गोली हानी घाइते बनाएकाहरूको आजीवन जीवन निर्वाहको व्यवस्था गर्नुपर्ने र यसअघ गिरफ्तारीमा परेकालाई विनाशर्त रिहाइ गर्नुपर्नेमाग राखी उनीहरूले दुई दिन बन्द आह्वान गरेका हुन् । गृह मन्त्रालयले पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिइसकेको छ।












