लुम्बिनी  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश समितिले पार्टी संरचनामा व्यापक सुधार र पुनर्गठन आवश्यक भएको निष्कर्ष सार्वजनिक गरेको छ। समितिको निर्णयबारे प्रदेशका महामन्त्री नीलराज अधिकारीले केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पत्र पठाउँदै केन्द्रदेखि वडा तहसम्म संगठन पुनर्संरचना गर्न आग्रह गरेका हुन्।

बैठकले पार्टीको आगामी निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय समितिको विस्तारित बैठक अविलम्ब बोलाउन र त्यसलाई पूर्ण रिफर्म गर्ने अधिकार दिनुपर्ने माग गरेको छ। अधिकारीका अनुसार, “अब निर्वाचन तयारीका लागि पार्टीलाई सबल र सुदृढ बनाउन, केन्द्रदेखि वडा तहसम्म पुनर्गठन अपरिहार्य छ।”

त्यसैगरी, प्रदेश समितिले उम्मेदवार छनोट कार्यविधि संशोधन गर्ने माग पनि राखेको छ। कार्यविधिमा संशोधन गरी जिल्ला सभापतिलगायत स्थानीय तहका नेतृत्वलाई उम्मेदवार छनोटमा अधिकार दिनुपर्ने सुझाव दिएको छ।

बैठकले हालैको हस्ताक्षर अभियानसँग जोडिएको सहयोगको पारदर्शिता कायम गर्न समेत जोड दिएको छ।

यसबाहेक, रास्वपा लुम्बिनीले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता विषयमा जनमत संग्रह गराउनुपर्ने माग गरेको छ। “यस्ता मूलभूत विषयमा अन्ततः जनताको अभिमतबाटै टुंगो लगाउनुपर्छ भन्ने हाम्रो धारणा हो,” अधिकारीले स्पष्ट पारे।

जेनजी आन्दोलनबारे भने, लुम्बिनी प्रदेश समितिले तल्लो तहका कार्यकर्तामात्रै कारबाहीको दायरामा परेकोप्रति गम्भीर आपत्ति जनाएको छ। समितिले आन्दोलनलाई उचाल्ने काम नेतृत्वबाट भएको भए त्यसको छानबिन र कारबाही “माथिबाट तलसम्म” गर्नुपर्नेमा जोड दिएको छ।

यसै सन्दर्भमा, प्रदेश समितिले आन्तरिक छानबिन समिति गठन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्ने व्यवस्था मिलाउन तथा दोषी जोसुकै भए पनि तत्काल कारबाही गर्नुपर्ने माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0