झापा । नेपाल स्काउट कोशी प्रदेश, विराटनगरले प्रदेशका स्काउटर शिक्षकहरुलाई दिक्षित गरेको छ । शिवसताक्षी नगरपालिका, झापामा आयोजित विशेष कार्यक्रममा प्रदेशका ४० जना स्काउटर शिक्षकहरुलाई औपचारिक रूपमा दिक्षा प्रदान गर्दै प्रमाणपत्र वितरण गरिएको हो ।

गत वर्ष प्रदेश स्तरीय एड्भान्स तालिम सम्पन्न गरेका सहभागीहरुलाई यसपालि औपचारिक रूपमा दिक्षा प्रदान गरिएको हो । कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय प्रशिक्षक सकुन्तला सुब्बाले सहभागीहरुलाई स्काउट शपथ दिलाउँदै दिक्षित गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्कीले दिक्षित स्काउटर शिक्षकहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । प्रमुख अतिथि थोप्राले आफ्नो मन्तव्यमा स्काउट गतिविधिले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र आचरण सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै विद्यालय मात्र नभई समाज र देशले कठिन परिस्थिति सामना गर्ने बेला स्काउटहरूले रचनात्मक भूमिका खेल्ने भएकाले यस संस्थालाई राष्ट्रिय सम्पत्ति सरह मान्नुपर्ने धारणा राखे ।

त्यस्तै, उपप्रमुख कार्कीले दिक्षित शिक्षकहरुलाई शुभकामना दिँदै विद्यार्थीलाई नेतृत्व क्षमता विकासमा प्रेरित गर्न स्काउटको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

कार्यक्रममा प्रदेश स्काउट प्रमुख हेमन्त भण्डारीको अध्यक्षता रहेको थियो भने शिवसताक्षी स्काउटका संयोजक डिगम पराजुलीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रदेश स्काउट अधिकृत नवराज सुवेदीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0