शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–११, दुधेमा अवस्थित दुधे आयुर्वेद औषधालय अझै पनि २९ वर्ष पुरानो जीर्ण भवनमै सञ्चालन भइरहेको छ। छत चुहिने, पिलर नठडाइएको र भूकम्पीय जोखिमयुक्त सो भवनमा छ जना कर्मचारीले दैनिक सयौँ सेवाग्राहीलाई उपचार र परामर्श दिइरहेका छन्।

औषधालय प्रमुख कविराज निरीक्षक राजेन्द्र पोखरेल भन्छन्, “भवन धेरै पुरानो भइसकेको छ। जाली कसेर मात्र बनाइएको भएकाले पिलरै छैन। कतिबेला कस्तो जोखिम निम्तिन्छ भन्नै सकिँदैन।”

आर्थिक वर्ष २०८१/८२ मा मात्र यहाँ ८ हजार १३२ जनाले सेवा लिएका छन्। तीमध्ये ३ हजार ९३२ जना बाहिरङ्ग (ओपीडी) सेवाग्राही, १ हजार ८४५ जना पञ्चकर्म–पूर्वकर्मका रोगी, ३६९ जना गाउँघर क्लिनिकमार्फत उपचार लिने र ३२० जना स्तनपायी आमा रहेका छन्।

जीर्ण अवस्थाको भवन भए पनि यहाँ परामर्श, औषधि वितरण, पञ्चकर्म, ज्येष्ठ नागरिक प्रवर्द्धन, मर्म थेरापी, स्वस्थ जीवन परामर्शलगायतका सेवा उपलब्ध छन्। तर, सेवाग्राहीका लागि छुट्टै शौचालयसमेत छैन।

नगरको एकमात्र आयुर्वेद औषधालय भएकाले यसलाई नगरस्तरीय अस्पतालमा स्तरोन्नति गर्न आवश्यक बजेट माग गरिएको प्रमुख पोखरेल बताउँछन्। हाल नयाँ भवन निर्माणका लागि जग्गा खोजी भइरहेको र सार्वजनिक सूचना जारी भइसकेको उनको भनाइ छ।

गत वर्ष छत टालटुल मर्मत गरिएको भए पनि अब आधुनिक सुविधा सम्पन्न भवन अपरिहार्य रहेको औषधालयले जनाएको छ। नयाँ भवनमा योग तथा ध्यान हल, फिजियोथेरापी, एक्युपञ्चर, एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला लगायतका सुविधा राख्नुपर्ने माग गरिएको छ।

औषधालय प्रमुख पोखरेल भन्छन्, “नयाँ संरचना बिना सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन सम्भव छैन। त्यसैले हामी स्थानीय र प्रदेश सरकारसँग निरन्तर आग्रह गरिरहेका छौँ।”

जोखिम मोलेर उपचार गराउन आउने सेवाग्राहीको भीडले दुधे आयुर्वेद औषधालयको आवश्यकता र महत्व अझ प्रस्ट्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0