काठमाडौं । हालैको भीषण बाढीपहिरोबाट ठूलो जनधनको क्षति बेहोरेको इलाम जिल्लालाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले इलामलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।
सरकारको निर्णयअनुसार सो अवधिमा जिल्ला प्रशासन कार्यालयका नेतृत्वमा राहत, उद्धार र पुनःस्थापना कार्यलाई तीव्र पारिनेछ।
हालैको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट इलाममा सबैभन्दा बढी क्षति पुगेको थियो। विभिन्न स्थानमा पहिरोमा परेर ३९ जनाको मृत्यु भएको र दर्जनौं परिवार विस्थापित भएका छन् ।
संकटग्रस्त घोषणा भइसकेपछि प्रभावित परिवारका लागि तत्कालीन राहत वितरण, अस्थायी आवास व्यवस्थापन र पुनर्निर्माणका कार्यमा केन्द्र र प्रदेश सरकारका संयोजनमा विशेष योजना लागू गरिने बताइएको छ।













