झापा । सडक तथा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेर वर्षौंदेखि काम नगरी आयोजना अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया तीव्र पारिएको छ।

सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयहरूले हालसम्म १७ रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका छन्। सडक डिभिजन कार्यालय विराटनगर, चन्द्रनिगाहपुर र निर्देशनालयले पाँच–पाँच तथा नुवाकोटले दुई ठेक्का तोड्ने तयारी गर्दै शुक्रबार सार्वजनिक सूचना जारी गरेका हुन्। तीमध्ये अधिकांश ठेक्का पुल निर्माणसँग सम्बन्धित छन्।

सबैभन्दा ठूलो परियोजना झापाको कन्काई पुल हो। हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने ७२३ मिटर लामो यो पुल करिब १४ वर्षदेखि अधुरो छ। आर्थिक वर्ष २०६७/६८ मा पप्पु–महादेवखिम्ती जेभीसँग ठेक्का सम्झौता भए पनि हालसम्म भौतिक तथा वित्तीय प्रगति ५५ प्रतिशत मात्र पुगेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई रुग्ण ठेक्का तोड्न निर्देशन दिएका छन्। हाल सडक क्षेत्रमा मात्र २५८ ठेक्का रुग्ण अवस्थामा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

सार्वजनिक सूचनामा ठेकेदारलाई १५ दिनभित्र कार्य सम्पन्न गर्न सक्ने संशोधित तालिका, स्रोतसाधन परिचालन योजना र ठेक्का नतोड्ने कारणसहित स्पष्टीकरण पेस गर्न आह्वान गरिएको छ। सो अवधिभित्र काम सुरु नगरेमा ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत र धरौती जफत गर्ने, पेश्की रकम ब्याजसहित असुल गर्ने र बाँकी काम सरकारी बाँकीसरह असुलउपर गर्ने चेतावनी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0