काठमाडौं । नेपाली सेनाले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा २२ जना प्रदर्शनकारीको मृत्यु भएको जानकारी दिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै सेनाले ७६ जनामध्ये २२ जना प्रदर्शनकारी, १० जना कैदी र तीन जना प्रहरीको मृत्यु भएको जानकारी दिएको हो ।

युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले मृत्यु हुने ७६ जनामध्ये ४१ जना अन्य भएको जानकारी दिए । थापाले जेनजी आन्दोलनको तरङ्ग केही अघिबाटै देखिएको भए पनि त्यसको ‘इभोलुसन’ अर्थात् विकासक्रम अचानक रूपमा प्रस्तुत भएको बताए। थापाले भने, ‘जेनजी तरङ्ग केही अघिबाट देखिएको थियो, तर सिलसिलेवार इभोलुसनमा प्रकट नभई अचानक प्रस्तुत हुन आइपुग्यो।’

सेनाले उक्त परिस्थिति मनन गर्दै आवश्यकताको सिद्धान्तका आधारमा आवश्यक पहल लिएको उनको भनाइ थियो। उनले भने, ‘आवश्यकताको सिद्धान्त मनन गरेर आवश्यक पहल लिएको हो। अन्य सुरक्षा निकायसँग काँधमा काँध मिलाएर सेनाले सहकार्य गर्दै आएको छ।’

आन्दोलन ४८४ स्थानमा भएको पनि उनले बताए । सेनाका अनुसार ६८८ वटा सरकारी कार्यालय, २५९ वटा निजी निवास, १२८ वटा व्यापारिक प्रतिष्ठान, १९८ वटा राजनीतिक दलका कार्यालय, ३०७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ ।

यस्तै आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकामा हालसम्म ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइएको सेनाको भनाइ छ । सेनाले आन्दोलनकै क्रममा ९७८ थान हतियार हराएकोमा ५८६ वटा फिर्ता गराइएको पनि आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0