काठमाडौँ । जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले देशभर अभियान तीव्र बनाएको छ । प्रहरीले राजधानी उपत्यकाबाट मात्रै १३२ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार काठमाडौँबाट हालसम्म ९८ जना पक्राउ परेका छन्। उनीहरूमध्ये कर्तव्य ज्यान, लुटपाट, आपराधिक उपद्रो र अभद्र व्यवहारजस्ता विभिन्न मुद्दामा मुछिएका छन्।

‘अनुसन्धान सकिएकामध्ये ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ,’ एसपी भट्टराईले बताए। ‘तीमध्ये ४ जना प्रहरी हत्या प्रकरणमा संलग्न छन् भने बाँकी २ जना आपराधिक उपद्रवका अभियुक्त हुन्।’

भट्टराईका अनुसार हाल पनि २२ जना हिरासतमा छन् भने केहीलाई हाजिरी जमानीमा छोडिएको छ । आन्दोलनकै क्रममा कारागारबाट फरार भएका १३६ कैदी बन्दीलाई समेत पुनः पक्राउ गरी बुझाइएको उनले जानकारी दिए।

यसैबीच, ललितपुर प्रहरीले पनि आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा २४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार, हतियारसहित पक्राउ परेका एक जना र लुटपाटमा संलग्न एक भारतीय नागरिक गरी दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

भक्तपुरमा पनि आन्दोलनसँग सम्बन्धित घटनामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार, सबै जनालाई हाजिरी जमानीमा छोडिएको छ। तर हालसम्म भक्तपुर अदालतमा कुनै मुद्दा दर्ता भएको छैन ।

प्रहरीका अनुसार पक्राउ परेका धेरैजसो व्यक्तिहरू पहिले नै विभिन्न आपराधिक घटनामा संलग्न रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0