काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रूपमा सिफारिस भएका खगेन्द्र सुनारको नाम अन्तिम समयमा मन्त्री बन्ने सूचीबाट हटाइएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले सुनारलाई तत्काल मन्त्री नबनाउने निर्णय गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।
आज दिउँसो साढे २ बजेका लागि मन्त्रीहरूको शपथ कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री कार्कीले आजै बिहान सुनारसहित चार जनालाई मन्त्री बनाउन सिफारिस गरेकी थिइन्।
तर सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएको र उनी प्रहरीको फरार सूचीमा रहेको तथ्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको थियो। विवादित छविका कारण सम्भावित समस्या बढ्ने आशंकामा उनको नाम फिर्ता लिइएको बताइएको छ।
यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथ स्थगित गरिएको छ। यद्यपि उनको शपथ किन रोकिएको भन्ने स्पष्ट गरिएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रालयका लागि बब्लु गुप्ता भने आजै शपथ ग्रहण गर्ने भएका छन्।













