काठमाडौँ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा भएको आगजनीमा परी काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा ज्यान गुमाएका सात जनाको पहिचान हुन नसकेपछि प्रहरीले बेवारिसे मानेर अन्त्येष्टि गर्ने तयारी गरेको छ ।

प्रहरीका अनुसार शवहरू अत्यधिक जलनका कारण आवश्यक जीवित कोष फेला नपरेपछि डिएनए परीक्षण सम्भव नभएको हो । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले परीक्षणका लागि केही नमुना पठाएको भए पनि ती नमुनामा जीवित कोष नपाइएकाले नतिजा निकाल्न नसकिएको हो ।

सामाखुसीस्थित नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले पनि डिएनए परीक्षण असफल भएको पुष्टि गरेको छ। फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार अब ती कङ्कालहरूलाई कानुनी प्रक्रिया पूरा गरेर अन्त्येष्टि गर्न तयारी भइरहेको छ।

उनले भने, ‘ती शवहरू हाल पनि टिचिङ अस्पतालमै छन् । डिएनए परीक्षण असफल भएपछि प्रहरीलाई जानकारी दिइसकेका छौँ । अब बेवारिसे मानेर अन्त्येष्टि प्रक्रिया अघि बढाइनेछ।’

अब, बेवारिसे शव व्यवस्थापनको प्रक्रिया अनुसार अस्पतालले प्रहरीलाई पत्र पठाउँछ र प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी ती शव पशुपति आर्यघाटमा लिएर दाहसंस्कार गर्छ।

प्रहरीका अनुसार केही मानिसहरूले हराइएका आफन्तको खोजी गर्दै आएका छन् तर ती शवहरूमध्ये कसैको पहिचानसँग मेल खाने कुनै प्रमाण फेला पर्न नसकेको हुँदा बेवारिसे भनेर अन्त्येष्टि गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0