सरोज भट्टराई
शिवसताक्षी । आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने झापा महिला गोल्डकपका लागि सम्पूर्ण तयारी पूरा गरिएको आयोजक समितिले जनाएको छ।
प्रतियोगिता हुने दुधे रंगशालाको चारै कुनामा उच्च गुणस्तरका सीसी क्यामेरा जडान गरी सुरक्षालाई प्राथमिकता दिइएको छ। रंगशालाको प्रवेशद्वारदेखि नै निगरानी प्रणाली सक्रिय गरिएको झापा महिला गोल्डकप आयोजक समितिले जनाएको छ ।
आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार खेल सुरु हुन दुई दिन बाँकी रहँदा सबै पूर्वाधार निर्माण कार्य सम्पन्न भएको छ।

दुधे रंगशालामा निर्माण गरिएको स्थायी प्याराफिटमा करिब ३ हजार दर्शक अटाउने व्यवस्था गरिएको छ भने, पूर्व, उत्तर र दक्षिण भागमा अस्थायी प्याराफिट निर्माण गरी १० हजारभन्दा बढी दर्शकले खेल अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ।
दर्शकका लागि १ सय र २ सय दरका टिकट उपलब्ध गराइनेछ। साथै बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई २५–२५ हजार रुपैयाँ प्रदान गरिनेछ। हरेक खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित हुने खेलाडीले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्।
पहिलो खेल नेपाल पुलिस क्लब र चर्ज वाइज युनाइटेडबीच हुनेछ। प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ, जसमा त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस क्लबका महिला टिमसँगै भारत, भुटान र नेपालका तीन ए–डिभिजन क्लबहरू प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता शिवसताक्षी नगरपालिका–११, दुधे स्थित दुधे रंगशालामा सञ्चालन हुनेछ। गोल्डकपलाई अघिल्ला प्रतियोगिताहरूको तुलनामा सबैभन्दा भव्य र आकर्षक हुने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ।













