काठमाडौँ । लगातारको वर्षाले बढेको जोखिमका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ। सुरक्षा जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सूचना प्रकाशित गर्दै कार्तिक १३ र १४ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सिन्धुलीको खुर्कोट बजार क्षेत्र हुँदै काठमाडौँतर्फ जाने कुनै पनि सवारी साधनलाई राजमार्ग प्रयोग गर्न पाइने छैन । वर्षा र सम्भावित पहिरोबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति रोकथाम गर्न राति बन्द गरिएको प्रशासनले जनाएको छ।
त्यस्तै, बिपी राजमार्ग र मध्य पहाडी राजमार्ग दुवै क्षेत्रमा वर्षा र पहिरोको जोखिम उच्च रहेकाले अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ । दिउँसोको समयमा यात्रा गर्नुपरेमा पनि चालक र यात्रुलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनि समान कारण देखाउँदै रातिको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाएको छ। प्रशासनका अनुसार आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म बिपी राजमार्गको काभ्रे भञ्ज्याङ-भकुण्डेबेशी-सिन्धुली सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाबाहेक अन्य सबै सवारी साधनको आवागमन निषेध गरिएको छ।
दुवै जिल्लाका प्रशासनहरूले लामो दूरीको यात्रा नगर्न, सुरक्षित स्थानबारे जानकारी लिन र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।













