काठमाडौँ । राजधानीको अत्यन्त सुरक्षित क्षेत्र मानिने नेपाली सेनाको जङ्गी अड्डाभित्र मध्यरातमा एक युवकले प्रवेश गरी तोडफोड गरेको घटना सार्वजनिक भएको छ ।
प्रहरीका अनुसार सिन्धुली तीनपाटन गाउँपालिका–६ का २४ वर्षीय राहुल बोगटीले गत असोज १८ गते राति करिब ११ बजेतिर जङ्गी अड्डाभित्रको अफिसर्स क्लबमा प्रवेश गरी केही सामग्री तोडफोड गरेका थिए ।
सेनाको प्रारम्भिक विवरणअनुसार तोडफोडका कारण करिब ३७ हजार रुपैयाँ बराबरको क्षति भएको छ । घटनापछि बोगटी जङ्गी अड्डाबाट भागेर काठमाडौँ-२८ संकटा पुगेका थिए ।
अनुसन्धानका क्रममा बोगटीले आफू होसमा नभएको अवस्थामा सेनाको परिसरमा प्रवेश गरेको बयान दिएका छन् । उनका अनुसार दसैँ मनाउन बनेपा पुगेपछि फर्किएर संकटामा दिदीको कोठामा बस्दै आएका थिए । सोही रात शहीद गेटतर्फ हिँड्दा एक्कासि होस गुमेको र त्यसपछि सेनाको तारबार नाघेको बताएका छन् ।
सोही राति २ बजे उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बोगटीले सेना र प्रहरीले आफूलाई पक्राउ गरेको ४५ मिनेटपछि मात्रै होस् खुलेको बयान दिएका छन् । बोगटीविरुद्ध शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।
सेनाको जङ्गी अड्डाभित्र अनधिकृत रूपमा प्रवेश गर्न खोज्ने व्यक्तिमाथि ड्युटीका सैनिकले गोली चलाउन सक्ने व्यवस्था छ । तर सेनाकै जङ्गी अड्डाभित्र प्रवेश गरेर तोडफोड हुनु गम्भीर सुरक्षा कमजोरी भएको केही सैनिक अधिकारीले बताएका छन् ।













