रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–१ पञ्चासेमा अटो दुर्घटना हुँदा एकै घरका दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
शनिबार साँझ करिब पौने ६ बजे लुगुमबाट ब्राहताल जाँदै गरेको रा १ ह ६७९७ नम्बरको अटो पञ्चासेस्थित मध्यपहाडी लोकमार्गबाट करीब तीन सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशङ्करप्रसाद यादवले जानकारी दिनुभयो ।
दुर्घटनामा भूमे–१ की ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता (फिसोल्टी) घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक जेठानी–देउरानी रहेको बताइएको छ । घटनास्थलबाट उद्धार गरी रुकुमपूर्व अस्पतालमा लगिएकोमा चिकित्सकले दुबैको मृत्यु भइसकेको घोषणा गरेका थिए । दुबैको शव पोस्टमार्टमका लागि रुकुमपूर्व अस्पताल रुकुमकोटमा राखिएको छ ।
यस दुर्घटनामा भूमे–१ की २६ वर्षीया प्रतिक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, २५ वर्षीया ब्युटी पुन, उनकी २ वर्षीया छोरी समृद्धि पुन र ३ वर्षीया सक्षम घर्ती घाइते भएका छन् । घाइते सबैको उपचारपछि अस्पतालले डिस्चार्ज गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका अटो चालक भूमे–१ लुगुमका ३० वर्षीय जोतिलाल (जोते) घर्तीलाई प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।













