शिवसताक्षी । एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले संकटा फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

खेलको सुरुवाती चरणदेखि नै दुबै टोलीबीच बराबरीको प्रतिस्पर्धा देखिएको थियो। पहिलो हाफमा नेपाल पुलिसले २४ औँ मिनेटमा कर्नरबाट गोलको अवसर पाए पनि संकटाकी गोलकिपर सुशीलाकुमारी चौधरीले पूजा रानाको कर्नर किकबाट आएको बल उत्कृष्ट रूपमा बचाइन्। त्यसपछि ३० औँ मिनेटमा संकटाले अग्रता लिने मौका गुमायो। भुटानी खेलाडी छिरिङ वाङग्देनको क्रसमा पूर्णिमा राईले हेड गर्न खोजे पनि सफल हुन सकिनन्।

पहिलो हाफको इन्जुरी समयमा पनि संकटाकी छिरिङको सट गोलपोस्ट नजिकैबाट बाहिरिएपछि खेल गोलरहित बराबरीमा सकियो। यो प्रतियोगिताको पहिलो खेल हो, जसमा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको हो।

दोस्रो हाफको ७० औँ मिनेटमा पुलिसले अग्रता लियो। पूजा रानाले करिब ३० यार्ड टाढाबाट दिएको फ्रिकिकमा मिना देउवाले सटिक हेड मार्दै गोल गरिन्। त्यसपछि ८२ औँ मिनेटमा रेखा पौडेलले संकटाकी कप्तान यशोदा शाहीको गल्तीको फाइदा उठाउँदै दोस्रो गोल गरिन्।

खेलको अन्तिमतिर सम्झना लावतीले वान–भर्सेस–वानको सुनौलो मौका गुमाइन्, भने इन्ज्युरी समयको अन्त्यतिर संकटाकी सेनुको सट गोलपोस्ट बाहिरिएको थियो।

२–० को जितसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ भने संकटा क्लब प्रतियोगिताबाट बाहिरिएको छ। खेलकी ‘प्लेयर अफ द म्याच’ पुलिसकी रेखा पौडेल घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्।

प्रतियोगिताको विजेता टोलीलाई नगद १० लाख १० हजार रुपैयाँ, उपविजेतालाई पाँच लाख रुपैयाँ प्रदान गरिनेछ। सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ, र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार  पाउने छन् । ।

 शनिबार हुने दोस्रो सेमिफाइनल खेल एपिएफ र आर्मी क्लबबीच हुने आयोजक झापा महिला गोल्डकप समितिले जनाएको छ ।

फाइनल खेल कात्तिक २४ गते दुधे रंगशालामा हुनेछ। गोल्डकप झापाको शिवसताक्षी स्थित दूधे रंगाशालामा गएको १७ गतेदेखि सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0