शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाका दक्षिणी क्षेत्रहरू आजरातिदेखि परेको अविरल वर्षापछि डुबानमा परेका छन् । कनकाई नदीमा आएको बाढीको भङ्गालो बस्ती पस्दा सयौं घर प्रभावित भएका छन् । नगरपालिकाका वडा नं ४, ५, ६ र ७ का करिब १५० घर डुबानमा परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख मेगाहाङ थोप्राका अनुसार वडा नं. ७ लालपानी क्षेत्रमा बाढी पस्दा घरको छानामा आश्रय लिएका स्थानीयहरूलाई उद्धार गरिएको हो । “लालपानी उत्तरबाट १६ जना र दक्षिणबाट १० जनालाई उद्धार गरिएको छ,” नगरप्रमुख थोप्राले बताउनुभयो । उहाँका अनुसार उद्धार कार्यमा नगरप्रहरी, नेपाल प्रहरी र स्थानीयबासी सक्रिय रुपमा सहभागी थिए ।

उद्धार गरिएका करिब १०० बाढीपीडितलाई स्थानीय लालपानी माध्यमिक विद्यालयमा सुरक्षित राखिएको छ । त्यस्तै वडा नं. ५ भेलामनीमा ७० घर डुबानमा परेका छन् । भेलामनीका बाढीपीडितलाई बालकल्याण माध्यमिक विद्यालयमा सारिएको वडा अध्यक्ष सिकिन पासवानले जानकारी दिनुभयो । वडा नं. ६ मा पनि केही घरहरू डुबानमा परेका छन् ।

नगरपालिकाले बाढीपीडितका लागि तत्कालकालागि खाद्यन्यको व्यवस्था गरिएको छ। नगरउपप्रमुख नरमाया कार्कीका अनुसार बिहानैबाट भेलामनीर लालपानीका प्रभावितलाई भुजा, चाउचाउ र पिउने पानी वितरण गरिएको छ ।

नगरप्रमुख थोप्राले भने, “बेलुकीसम्म लालपानी र बालकल्याण विद्यालयमा बसोबास गरिरहेका बाढीपीडितलाई खानाको व्यवस्था गरिँदैछ । सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धालाई लत्ताकपडा र ओछ्याउने सामग्री पनि उपलब्ध गराइनेछ।” वडा नं। ६ का प्रभावित परिवारलाई समेत राहत वितरणको तयारी भइरहेको वडा सदस्य गोमा रिजालले बताउनुभयो ।

यसैबीच, नगरपालिकाको वडा नं. १० स्थित पर्यटकीय क्षेत्र दोमुखामा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ । प्रसिद्ध पिकनिक स्पट, चिल्ड्रेन पार्क, मौलिक घर र स्वीमिङ पुल पूर्णरूपमा डुबानमा परेका छन् । दोमुखा रिसोर्टको पर्वपट्टि भाग बाढीले क्षति पुर्याएको छ । नगरपालिकाले रेडक्रस, प्रहरी, स्वास्थ्य, उद्योग बाणिज्य संघ, नगरप्रहरी लगायत सबै विभागहरुलाई सक्रिय गराएको छ । उद्धार गरेर सुरक्षित स्थानमा राखिएका नागरिकलाई स्वास्थ्य अवस्थालाई मध्य नजर राख्दै नगर स्वास्थ्यको टोली खटाएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

बाढीले नगरका सडक र खेतीपातमा पनि क्षति पुर्‍याएको प्रारम्भिक जानकारी आएको छ । उद्धार र राहत कार्य निरन्तर जारी रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0