झापा । गोर्खाली फिटनेसका उमेश राई (जीवन)ले उपाधि रक्षासहित १७औं संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । उनी झापा बिर्तामोडका हुन् ।

काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको प्रतियोगिताको ओभरअलतर्फ राईले बिर्तामोडकै ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधि जितेसँगै उनले नगद १२ लाख तथा ११ किलोग्राम वजनको ट्रफीसहित मेडल, प्रमाण पत्र, चीन घुम्ने अवसर र अन्य उपहार प्राप्त गरे ।

उनी १६औं संस्करणका पनि विजेता हुन् । त्यस्तै, उपविजेता भएका धिमालले नगद ६ लाख हात पारे । त्यस्तै, तृतीय स्थानमा रहेका दाङ्गका माधव सुवेदीले नगद ३ लाख प्राप्त गरे । धर्मश्रीमा दुई पटक उपाधि चुम्ने राई तेश्रो खेलाडी हुन् । यसअघि नरेश महर्जन र सानु गुरुङ्गले दुई पटक उपाधि जितेका थिए ।

नेपालमा ब्यायाम क्षेत्रको जननी संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा राई ८० केजीमाथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउण्डमा प्रवेश गरेका थिए । त्यस्तै, ललित धिमालले ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधिको ओभर अल राउण्डमा प्रवेश पाएका थिए ।

६ तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहका विजेता खेलाडीहरुले अन्तिम चरणमा धर्मश्रीका उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0