बिर्तामोड । झापाको स–सानो केरा बजार पछिल्लो समय बिर्तामोडमा केन्द्रित हुन थालेको छ । किसान र व्यापारीहरुले केरा व्यापारको मुख्य केन्द्र नै बिर्तामोडको कृषि बजारलाई बनाउन थालेका छन् ।
इलाम, झापाका किसानले उत्पादन गरेको केरा बुधबार र शनिवार बिर्तामोडबाट देशका विभिन्न बजारमा निर्यात भइरहेको छ । पूर्वमा ठुलो केरा बजारको रुपमा स्थापित भइरहेको बिर्तामोडबाट पश्चिममा पोखरासम्म निर्यात भइरहेको माइ नगरपालिकाका किसान ज्ञान बहादुर मगरले जानकारी दिए । उनका अनुसार जनकपुर, लाहान, राजविराज, इनरुवा, काठमाडौं, बाग्लुङ र पाँचथर, ताप्लेजुङसम्म बिर्तामोडबाट केरा निर्यात भइरहेको छ । इलामको माई र रोङ क्षेत्रमा उत्पादित केरा विक्रीका लागि बिर्तामोड ल्याउने गरिएको छ । स्थानीय उत्पादन पनि कृषिथोकको केरा बजारबाट निर्यात भइरहेको मगर बताउँछन् ।
नेपाल फलफूल व्यवसायी महासंघको केन्द्रीय सदस्य समेत रहेका शिवाकोटीले केरा बजार बढ्दै जाँदा व्यवस्थापनमा कठिनाई भइरहेको बताएका छन् । उनले बजारमा केराको बढ्दो व्यापारले गाडिहरुलाई आवतजावत र लोडअनलोड मै समस्या भइरहेको बताए ।
झापाको भद्रपुर र गौरीगञ्जमा व्यवसायिक केरा खेती गर्दै आएका प्रकाश निरौलाले विक्रीमा भन्दा उत्पादनमा समस्या हुने गरेको बताए । केरा सहजै विक्री गर्न सकिन्छ, उनले भने – तर, उत्पादनमा समस्या छ । मल नै समस्या भइरहेको छ । निरौलाले नेपालमा केरा खेतीको विस्तार भइरहे पनि भारतबाट आयात नरोकिएको जानकारी दिए ।
बिर्तामोडको कृषिथोक बजारबाट मात्रै मासिक न्यूनतम २५ हजार घरी केरा विक्री भइरहेको व्यवसायीहरुको भनाई छ ।













