ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ७ बजेदेखि मध्यराति १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुमन घिमिरेका अनुसार ललितपुर महानगरपालिका–२, ४, ९, १८ र २५ का विशेष क्षेत्रलाई चार किल्ला तोकेर कर्फ्युमा राखिएको हो।

वडा नं. ४, १८ र २५ अन्तर्गत पर्ने भैंसेपाटी क्षेत्रमा पूर्वतर्फ भैंसेपाटी–बुंगमती सडक, पश्चिमतर्फ सिजी हाउजिङ र चोभार गल्छी सडक, उत्तरतर्फ एकान्तकुनास्थित गायत्री पेट्रोलपम्प मुनिको विष्णुदेवी मन्दिर र दक्षिणतर्फ इटनी जाने ओह्रालो मार्गसम्मको भूभागमा कर्फ्यु लागू गरिएको छ।

त्यस्तै, सानेपास्थित वडा नं. २ मा पनि सार्वजनिक गतिविधि रोक्न कर्फ्यु लगाइएको छ। सानेपा चोकदेखि इन्द्राणी मन्दिरसम्मको पक्की सडक, बल्खु पुलदेखि मनमोहन पार्कसम्मको बागमती करिडोर सडक, चक्रपथको सर्भिस लेन (बल्खु पुल–सानेपा चोक) र इन्द्राणी मन्दिरबाट बागमती करिडोरतर्फ जाने बाटोलाई कर्फ्यु क्षेत्रमा राखिएको प्रशासनले जनाएको छ।

वडा नं. ९ को च्यासल क्षेत्रमा भने पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुलदेखि, पश्चिममा च्यासल रंगशाला, उत्तरमा मनोहरा खोला र दक्षिणतर्फ पश्चिम मल पोखरी जाने बाटोसम्म कर्फ्यु आदेश लागू गरिएको छ।

प्रशासनले कर्फ्यु अवधिमा भेला, जुलुस, प्रदर्शन, सभा वा घेराउ गर्न नपाइने चेतावनीसमेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0