काठमाडौँ । अन्तरिम सरकार गठनबारे छलफलका लागि राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ९ बजेका लागि बोलाइएको वार्ता दिउँसो २ बजेसम्मका लागि सारिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार आन्तरिक तयारीका कारण वार्ता समय परिवर्तन गरिएको हो ।

अन्तरिम सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले विगत दुई दिनदेखि राजनीतिक दलका शीर्ष नेतादेखि संविधानविद्, कानुनविद् र जेन–जी आन्दोलनका प्रतिनिधिसम्मसँग निरन्तर छलफल गर्दै आएका छन् ।

अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा सर्वपक्षीय छलफलले मौलिक सहमति जवर्जस्त हासिल गरेको छ । तर संविधानले तोकेको प्रक्रिया नै सबैभन्दा ठूलो चुनौती बनेको छ । संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभाको सदस्य हुनुपर्ने प्रावधान छ । कार्की भने प्रतिनिधिसभा सदस्य नभएकी कारण यसै आधारमा अन्तरिम सरकारको नेतृत्व कसरी सम्भव हुन्छ भन्ने प्रश्नमा अझै अन्योल छ ।

बिहीबार साँझदेखि सुरु भएको छलफल शुक्रबार बिहान ३ बजेसम्म पनि जारी रह्यो । तर सो बैठकमा कार्कीलाई कसरी संवैधानिक ढाँचामै प्रधानमन्त्री बनाउने भन्ने विषयमा निष्कर्षमा पुग्न सकेन ।

जेन–जी आन्दोलनले संसद् विघटनलाई प्रमुख मुद्दा बनाएको छ । यसैबीच राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अन्तर्गतको ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्ने सम्भावना बारे संविधानविद्हरूसँग परामर्श गरेका छन् । यो प्रावधान असामान्य परिस्थितिमा संवैधानिक अवरोध हटाउन राष्ट्रपति सक्रिय हुनसक्ने प्रावधान हो । तर यो कसरी प्रयोग गर्ने भन्ने विषयमा संविधानविद्हरूबीच पनि मतैक्य छैन ।

राष्ट्रपति पौडेलले यसबारेमा संविधानविद् भीमार्जुन आचार्य, विपिन अधिकारीलगायतसँग विस्तृत छलफल गरेका छन् । कानुनविद्हरूले संवैधानिक अवरोध हटाउने प्रावधान प्रयोग गर्दा दीर्घकालीन राजनीतिक विवाद उत्पन्न हुने सम्भावना औंल्याएका छन् ।

आज दिउँसो २ बजे हुने भनिएको वार्तामा अन्तरिम सरकारको नेतृत्व कसलाई दिने र त्यसलाई संवैधानिक रूपले कसरी वैधता दिने भन्ने मूल प्रश्न समाधान गर्ने प्रयास हुनेछ । राजनीतिक दलका नेताहरू, संविधानविद्हरू र जेन–जी आन्दोलनका प्रतिनिधिहरू यसै छलफलमा सहभागी हुनेछन् ।

यसअघि भएको वार्तामा सहभागीहरूले कार्कीलाई सर्वस्वीकार्य विकल्पका रूपमा प्रस्तुत गरेका थिए । अब, संविधानको बाधा अड्काउ कसरी फुकाउने भन्नेमा राष्ट्रपति र दलहरूको सहमति बन्ने हो वा अर्को वैकल्पिक नाम अघि सारिने हो भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0