काठमाण्डौ । जेनजी आन्दोलनको आगजनीले सिंहदरबारलाई खण्डहर बनायो, तर अझै पनि त्यसको टुप्पोमा फहराइरहेको छ चन्द्र–सूर्य अङ्कित झण्डा। त्यो झण्डा आज पनि आशा, एकता र विश्वासको प्रतीकझैँ देखिन्छ।
त्रिभुवन विश्वविद्यालयका प्रा. डा. केशव बस्याल जलेको सिंहदरबार नियाल्दा रसिलो आँखासहित भावुक भए। उनले भने, “इतिहासको धरोहर खरानी भएको देख्दा पीडा छ, तर निराशा छैन। फेरि पनि सिंहदरबार उठ्नेछ भन्ने विश्वास छ।”
सिंहदरबारका भित्तामा अंकित कलाकृति र शिल्प अहिले धुवाँले लतपतिएका छन्, तर तिनै कलाले पुनःनिर्माणको प्रतीक्षा गरिरहेका छन्। कानुन व्यवसायी देवमाया घिमिरे र सुमित्रा श्रेष्ठले पनि जलेको दृश्य देख्दा मन जलाएको अनुभव गरे। अवलोकनका लागि पुगेका धेरैको अनुहारमा मौनता र आँसु देखिन्थ्यो।
इतिहासकारदेखि कर्मचारीसम्म सबैको चिन्ता एउटै छ—यो केवल भवन मात्र होइन, नेपालको प्रशासनिक र राजनीतिक जीवन्त दस्तावेज हो। आक्रमण र आगजनीले सम्पदा मात्र होइन, राष्ट्रिय पहिचानमाथि पनि प्रहार भएको छ।
सिंहदरबार राणाकालीन धरोहर हो, जसलाई सन् १९०३ मा चन्द्र शमशेरले आफ्नो निवासका रूपमा निर्माण गराएका थिए। एक हजार सात सय कोठा भएको यो भवन त्यतिबेला एसियाकै सबैभन्दा ठूलो दरबार मानिन्थ्यो। पछि यसैलाई नेपाल सरकारको कार्यालय बनाइएको थियो। विसं २०३० मा पनि यहाँ ठूलो आगलागी भएको थियो।
गोरखा भूकम्पपछिको पुनःनिर्माणले फेरि चम्किएको सिंहदरबार आज फेरि खरानी बनेको छ। तर सिंहदरबारभित्रै काम गर्ने कर्मचारीदेखि सुरक्षा जवानसम्म सबैले एउटै आशा बोकेका छन्—फेरि पनि यो उठ्नेछ, अझ मजबुत रूपमा।
सिंहदरबार खरानी भए पनि यसको माथि फहराएको झण्डाले भने नेपालीको आत्मविश्वास अझै ढलेको छैन। इतिहास फेरि उठ्ने छ, र त्यससँगै समृद्ध नेपालको कथा निरन्तर सुनिने छ।













