काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारका मन्त्रीहरूले आजै सपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयमा बिहान ११:३० बजे सपथग्रहण कार्यक्रम तय भएको राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले जानकारी दिएको छ।
अहिलेसम्म तीन मन्त्रीको नाम टुंगो लागिसकेको छ। अधिवक्ता ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रालय सम्हाल्ने, रामेश्वर खनालले अर्थ मन्त्रालय र कुलमान घिसिङले ऊर्जा मन्त्रालयको जिम्मेवारी लिने निश्चित भएको छ।
अर्याल अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेर चर्चामा आएका थिए। उनी काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकारसमेत हुन्। कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गर्ने क्रममा राष्ट्रपति पौडेलसँग भएको वार्तामा पनि उनी संलग्न थिए।
अर्थ मन्त्रालय सम्हाल्न लागेका खनाल पूर्वअर्थसचिव हुन्। उनले हालै केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए।
ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउन लागेका घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन्। उनी आफ्नो कार्यकालमा देशलाई लोडसेडिङमुक्त बनाएको कारण जनस्तरमा लोकप्रिय बनेका थिए। केही महिनाअघि ओली सरकारले उनलाई प्राधिकरणबाट हटाएको थियो।













