काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि राजधानीका प्रमुख सरकारी तथा निजी संरचनामा देखिएको क्षति अत्यन्त गम्भीर रहेको प्रारम्भिक अध्ययनले देखाएको छ।

नेपाल इन्जिनियर एसोसिएसनले करिब २०० प्राविधिकलाई खटाएर सहरी विकास तथा भवन निर्माण विभागसँग मिलेर क्षतिको आकलन सुरु गरेको छ। प्रारम्भिक नतिजाअनुसार धेरैजसो भवन पुनः प्रयोग गर्नै नसकिने गरी नष्ट भएका छन्। इन्जिनियरहरूको भनाइमा यस्ता भवन सामान्य भूकम्पको धक्काले समेत भत्कन सक्ने अवस्थामा पुगेका छन्।

२०७२ सालको भूकम्पले पटक–पटक ठूलो क्षति पु¥याइसकेको मुलुकमा यसपटकको आगजनीले थप चुनौती थपेको इन्जिनियरहरूले जनाएका छन्। नेपाल इन्जिनियर एसोसिएसनका उपमहासचिव अनिल मानन्धरका अनुसार, कतिपय भवनमा ४००–५०० डिग्री सेल्सियससम्म निरन्तर १२–२४ घण्टा आगो बल्दा संरचनात्मक असर परेको छ। उनले भने, “यस्तो अवस्था कस्तो हुन्छ भन्ने विश्वकै अनुभव सीमित छ, हाम्रो अध्ययन महत्वपूर्ण आधार बन्न सक्छ।”

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले पनि कतिपय भवनमा गहिरो संरचनात्मक क्षति पाइएको बताए। “आरसीसी भवनका स्ल्याबमा स्ट्रक्चरल क्षति, शेरवालहरूमा फुटेका भाग र कतिपय ठाउँमा बीम लच्किएको अवस्था भेट्टाइयो। सिंहदरबार र सर्वोच्च अदालत जस्ता भवनमा त रेट्रोफिट गरेर गरिएको फलामको ज्याकेटिङसम्म भत्केर डन्डी देखिने अवस्था छ,” उनले भने।

अहिलेसम्मको प्रारम्भिक अध्ययनमा तत्काल बस्न नमिल्ने भवनमा रातो स्टिकर, आंशिक क्षति भएर प्रयोग गर्न सकिने भवनमा पहेँलो स्टिकर र सामान्य क्षति भएका भवनमा हरियो स्टिकर लगाइएको छ। सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, स्वास्थ्य मन्त्रालय र बार एसोसिएसनलगायतका भवनमा रातो स्टिकर लगाइएको छ।

तर, प्राविधिकहरूले यसलाई केवल प्राथमिक नतिजा मात्रै मान्दै विस्तृत परीक्षणपछि मात्र भवनलाई रेट्रोफिट गरेर प्रयोग गर्न सकिने वा पूर्ण रूपमा भत्काएर नयाँ बनाउनुपर्ने निर्णय गर्न सकिने बताएका छन्।

भदौ २४ गते अराजक समूहद्वारा गरिएको आगजनीले सिंहदरबार, राष्ट्रपति भवन, संसद भवनलगायतका मुलुकका प्रमुख प्रशासनिक केन्द्रदेखि निजी घर र व्यावसायिक प्रतिष्ठानसम्म क्षतिग्रस्त बनाएको छ। प्रारम्भिक आकलनअनुसार अरबौंको सम्पत्ति नष्ट भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0