काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने निर्वाचनलाई सरकारको मूल लक्ष्य भएको स्पष्ट पारेकी छन्। मंगलबार देशवासीलाई सम्बोधन गर्दै उनले चुनावमा सहभागी हुन राजनीतिक दलसहित सबै सरोकारवालालाई आह्वान गरिन्।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका केही अगुवाले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था र संविधान संशोधनको माग तत्काल सम्भव नभएको बताइन्। उनका अनुसार यस्ता विषय नयाँ संसद्को प्रक्रियामार्फत मात्र चुनावपछि सम्भव हुनेछन्। “शासकीय प्रणालीको संशोधन वर्तमान सरकारको कार्यक्षेत्रभन्दा बाहिर पर्छ, त्यसैले संविधानिक प्रक्रियाबाट मात्र यसको समाधान खोज्नुपर्छ,” उनले भनिन्।
करिब दुई सातासम्म राजनीतिक दलहरुसँग दूरीमा रहेकी प्रधानमन्त्री कार्कीले सम्बोधनमार्फत चुनावी तयारीलाई प्राथमिकता दिन दलहरुलाई पनि औपचारिक आह्वान गरेकी हुन्। “फागुन २१ गते चुनाव सम्पन्न गर्न सरकारले आवश्यक जनशक्ति, सुरक्षा र कानुनी व्यवस्थाका लागि प्रारम्भिक काम सुरु गरिसकेको छ,” उनले भनिन्।
देश बाहिर रहेका नेपालीलाई मताधिकार दिने विषयमा समेत छलफल भइरहेको उनले उल्लेख गरिन्। साथै, विगतमा भएका भ्रष्टाचारबारे छोटो समयमा प्रष्ट जानकारी पाएको बताउँदै कार्कीले दोषीमाथि आवश्यक छानबिन र कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिइन्।













