काठमाडौं । यस वर्ष नेपालभर डेंगु संक्रमितको संख्या ५ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पुसदेखि हालसम्म ७५ जिल्लामा ५ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेशगत तथ्यांकअनुसार गण्डकीमा १,३२७, बागमतीमा १,१९१, लुम्बिनीमा ९११, कोशीमा ७३७, सुदूरपश्चिममा ६२२, कर्णालीमा २९६ र मधेशमा ११२ जनामा संक्रमण देखिएको छ ।
ईडीसीडीका डा. गोकर्ण दाहालका अनुसार वास्तविक संक्रमितको संख्या सरकारी तथ्यांकभन्दा धेरै हुन सक्छ । यद्यपि गत वर्षको तुलनामा यसपटक संक्रमण कम देखिएको र कुनै क्षेत्रमा ‘हटस्पट’ नदेखिनु सकारात्मक रहेको उनले बताए ।
दशैंतिर आवतजावत बढ्ने भएकाले संक्रमण थप फैलिन सक्ने विज्ञहरूको चेतावनी छ । उनीहरूका अनुसार अव्यवस्थित फोहोर व्यवस्थापन, पानी जम्ने भाँडाकुडा, टायर र गमलामा डेंगु सार्ने लामखुट्टे प्रजनन हुने भएकाले सतर्कता आवश्यक छ ।
सन् २०२२ मा सबै ७७ जिल्लामा ५४ हजारभन्दा बढी संक्रमित र ८८ मृत्यु, २०२३ मा ५२ हजारभन्दा बढी संक्रमित र २० मृत्यु र २०२४ मा ४१,८६५ संक्रमितसहित १५ जनाको मृत्यु भएको थियो ।
विशेषज्ञहरूले खोजी र नष्ट अभियानलाई डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भन्दै नागरिक स्वयं सचेत हुनुपर्नेमा जोड दिएका छन् ।












