काठमाडौँ । निर्वाचन आयोगले आउँदो २१ फागुनमा हुने निर्वाचन कार्यक्रमको तालिका छिट्टै सार्वजनिक गर्ने भएको छ।

आयोग स्रोतका अनुसार, तालिकाको प्रारम्भिक खाका तयार भइसकेको छ र पदाधिकारीहरूबीच छलफल भइरहेको छ। आयोगका अनुसार, नयाँ दल दर्ताका लागि कार्तिक मसान्तसम्मको समयसीमा तोक्ने तयारी छ । त्यसपछि दर्ता हुने दलले आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिन पाउने छैनन् ।

आयोगले त्यसपछि निर्वाचन प्रयोजनका लागि फेरि दल दर्ताको आह्वान गर्नेछ । त्यसका लागि १० मंसिर हाराहारीको समय तोक्ने तयारी छ । नयाँ दर्ता हुने दलहरुले पनि त्यही समयभित्र फेरि निर्वाचनका लागि दर्ता गर्नुपर्नेछ ।

आयोगले करिब डेढ महिनाको समय राखेर उम्मेद्वारहरुको मनोनयन मिति तोक्ने गरी छलफल अघि बढाएको छ । माघको पहिलो साताभित्र उम्मेद्वारहरुले मनोनयन दर्ता गर्नुपर्नेछ ।

उम्मेद्वारहरुले भौतिक रुपमा निर्वाचन प्रचारप्रसारका लागि करिव १५ दिनको समय मात्रै पाउनेगरी अवधि तोक्नेबारे आयोगमा छलफल चलेको छ । त्यसो हुँदा ६ फागुनभन्दा अघि उम्मेद्वारहरुले भौतिक रुपमा सभा सम्मेलन, प्रचारप्रसार र कोणसभा गर्न पाउने छैनन् ।

आयोगले निर्वाचन तालिकाको अन्तिम रुप दिई सकेपछि मंगलबार प्रधानमन्त्रीको उपस्थितिमा सबै मन्त्री, सचिव, सुरक्षा प्रमुखसहित बृहत छलफल गर्ने तयारी गरेको छ । उक्त बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन र प्रशासनिक तालमेलका विषयमा निर्णय गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0