झापा । पूर्व–पश्चिम राजमार्ग (एसियन हाइवे) अन्तर्गत झापाको शिवसताक्षीस्थित भालुखोला र मेचीनगरस्थित कालीखोलामा बनेका डाइभर्सन पानीले बगाउँदा दशैंमा यात्रुले सास्ती खेप्नु पर्याे ।

यी डाइभर्सनहरु वर्षात हुने वित्तिकै बगाउने समस्याले यात्रुले सास्ती व्यहोर्दै आएका छन् । गएको १८ गते आएको वर्षातले भालु खोलाको बगाएको डाइभर्सनमा पुनः सवारी सञ्चालन गर्न ३५ घण्टा कुर्नु परेको थियो ।

दसैंको भीडभाडमा राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू घण्टौं घुम्ती बाटो हुँदै गन्तव्य पुग्न बाध्य भएका थिए ।

यी दुवै ठाउँमा पुराना पुल भत्काएर नयाँ पुल निर्माण भइरहेकाले अस्थायी डाइभर्सन बारम्बार बाढीले बगाउने गरेको छ ।

काँकडभिट्टा–लौकही सडक योजना (एसियन हाइवे) का इन्जिनियर आश्रय महतका अनुसार भालुखोला पुल एकदेखि दुई महिनाभित्र र कालीखोला पुल दुईदेखि तीन महिनाभित्र सञ्चालनमा आउनेछन् ।

उनका अनुसार भालुखोलामा पुल ठडिइसकेको र माटो पुर्ने काम मात्र बाँकी छ भने कालीखोलामा स्ल्याब पिलरमा राख्ने अन्तिम तयारी भइरहेको छ ।

काँकडभिट्टा–लौकही सडक योजनाअन्तर्गत २० वटा पुल निर्माणाधीन छन्, जसमा सबै पुल चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने तयारी गरिएको छ । पुल निर्माण सम्पन्न भएपछि झापाको मुख्य यातायात अवरोधमुक्त हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0