शिवसताक्षी । एलभीडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। झापाको शिवसताक्षी नगरपालिकामा पहिलोपटक आयोजना हुन लागेको यो प्रतियोगिता यही कात्तिक १७ गतेदेखि २४ गतेसम्म शिवसताक्षीस्थित दूधे रंगशालामा हुने भएको हो।

यसअघि कात्तिक १५ गतेदेखि सुरु गर्ने योजना भए पनि लगातारको वर्षाका कारण प्रतियोगिता दुई दिनपछि सारिएको आयोजक समितिले जनाएको छ।

गोल्डकपका लागि तीन हजार दर्शक क्षमताको पक्की प्यारापिटमा कुर्सी जडान कार्य पूरा भएको छ भने अतिथि र विशेष दर्शकका लागि ३०० वटा कुर्सी निर्माण गरिएको छ। साथै, १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट पनि तयार गरिएको गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिनुभयो। उनका अनुसार खेलमैदानलाई आकर्षक र उच्चस्तरीय बनाइएको छ।

प्रतियोगिताको उद्घाटन खेल कात्तिक १७ गते नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ।
त्यस्तै, कात्तिक १८ गते नेपाल एपीएफ फुटबल क्लबले भारतको सिक्किम सिंग्लिङ स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
कात्तिक १९ गते संकटा क्लब र झापा फुटबल क्लबबीच तथा कात्तिक २० गते त्रिभुवन आर्मी क्लब र आरएस पोखरा क्लबबीच खेल हुनेछ।

पहिलो सेमिफाइनल कात्तिक २१ गते, दोस्रो सेमिफाइनल कात्तिक २२ गते, र फाइनल खेल कात्तिक २४ गते हुने तय गरिएको छ।

आयोजकका अनुसार प्रतियोगिता हालसम्मका महिला फुटबल प्रतियोगितामध्ये सबैभन्दा आकर्षक र भव्य हुने अपेक्षा गरिएको छ।

विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ।

प्रतियोगितामा आठवटा टिमको सहभागिता रहनेछ। आयोजक समितिले यो गोल्डकपलाई महिला खेलाडीमा प्रेरणा जगाउने र ग्रासरुट स्तरमै महिला फुटबल सुदृढ बनाउने अभियानका रूपमा अघि सारेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0